नार्पाभूमि गाउँपालिकामा फू गाउँको गोरेटो बाटो स्तरोन्नति
मनाङ, मंसिर २१
नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको पाँच लाख रुपियाँको आर्थिक सहयोगमा स्थानीयको लामो मागअनुसार बाटो सुधार सम्पन्न भएको हो।

समुद्र सतहबाट करिब ४१०० मिटरमा अवस्थित फू गाउँका १७७ मिटर लम्बाइको गोरेटो बाटोमा छपनी ओछ्याउने, पर्खाल लगाउने तथा सिँढी निर्माणजस्ता काम सम्पन्न गरिएको एक्याप मनाङले जनाएको छ। उकालो–ओरालोयुक्त भौगोलिक बनावटका कारण स्थानीय बासिन्दा र गाउँ भ्रमणमा आउने पर्यटकहरूलाई झेलिनु परेको कठिनाइलाई ध्यानमा राख्दै स्तरोन्नति कार्य अघि बढाइएको हो।

एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार वर्षायाममा बाटो चिप्लिने, ढुङ्गामाटो बग्ने र कतिपय स्थानमा जोखिम बढ्ने समस्या समाधानका लागि स्थानीयले पटक–पटक माग गरेका थिए। मागलाई प्राथमिकता दिँदै उपलब्ध बजेटमा समयमै निर्माण काम पूरा गरिएको उनले बताए।
गोरेटो बाटो सुधारसँगै गाउँभित्रका दैनिक गतिविधि, सामान ढुवानी, तथा विद्यालय जाने बालबालिकाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायी सुनील गुरुङका अनुसार व्यवस्थित पदमार्गले पर्यटकहरूको यात्रा अनुभव सुधार गर्ने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्नेछ। व्यवस्थित पूर्वाधारका कारण पर्यटकको बसाइ अवधि बढ्ने र गाउँलेले आर्थिक लाभ लिन सक्ने विश्वास व्यक्त गरिएको छ।

फू गाउँका स्थानीयवासीहरूले बाटो स्तरोन्नतिले गाउँको समग्र विकासमा नयाँ ऊर्जा थपेको प्रतिक्रिया दिएका छन्। एक्यापको निरन्तर सहयोगले अन्य पूर्वाधार विकासमा पनि टेवा पुग्ने अपेक्षा उनीहरूको छ।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
