मालिका र धवलागिरी गाउँपालिकामा ५३.५ मेगावाट जलविद्युत् निर्माण तीव्र
म्याग्दी, मङ्सिर २२
धवलागिरी र मालिका गाउँपालिकामा निर्माण भइरहेको ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाले ३० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको यस आयोजनामा बाँध, सुरुङ र विद्युतगृह निर्माण तीव्र गतिमा जारी छ।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार एक वर्षको अवधिमा ३०.९४ प्रतिशत भौतिक र ३०.८० प्रतिशत वित्तीय प्रगति भएको छ।
“चारवटा स्थानबाट सुरुङ खन्ने काम भइरहेको छ। २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार बाँध र विद्युतगृहको काम पनि तीव्र छ,” केसीले बताए।

कुल ५,७८९.७१ मिटर लामो सुरुङमध्ये अहिलेसम्म २,३६० मिटर निर्माण भइसकेको छ। बाँध निर्माणस्थलमा ४५ प्रतिशत काम सकिएको छ भने करिब दुई हप्तामा विद्युतगृह क्षेत्रको उत्खनन् पूरा गरी संरचना निर्माणको चरणमा प्रवेश गर्ने तयारी गरिएको छ।
सिभिल ठेक्का लुना बिल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गतेदेखि काम सुरु गरेको थियो।
धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीबाट पानी सुरुङमा प्रवेश गराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ। नजिकै १०० मिटर लामो र १५ मिटर अग्लो तीनवटा पानी थिग्राउने पोखरी समेत निर्माणाधीन छन्।

आयोजनाका लागि म्याकानिकल र इलेक्ट्रो–मेकानिकल निर्माण कम्पनीको छनोट भइसकेको छ। रन–अफ–द–रिभर प्रकारको यस परियोजनामा आउटलेटदेखि विद्युतगृहसम्म १९६ मिटर उचाइ हुनेछ, जसका लागि ६९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ।
आयोजनामा ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन परामर्शदाता रहेको छ भने प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालि हो।
विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ, जहाँबाट डाडाखेतमा निर्माणाधीन १३२ केभी सबस्टेशनसम्म १.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न अध्ययन भइरहेको छ।
सानीमा बैंकको नेतृत्वमा सहभोगी छ वटा बैंक, प्रवर्द्धक कम्पनी तथा सर्वसाधारणको शेयरमाध्यमबाट जुटाइने ११ अर्ब २३ करोड २७ लाख रुपैयाँको लागतमा आयोजना बनिरहेको हो। आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट–घण्टा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने अनुमान छ।

आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा ६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हालसम्मको प्रगतिले योजना निर्धारित समयमा नै पूरा हुनेमा आफूहरू आशावादी रहेको आयोजना प्रमुख केसीले बताए।
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग




-1770649988.jpg)
-1770567812.jpg)