नरैनापुर पालिकामा अपारदर्शी निर्णयविरुद्ध आवाज - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

नरैनापुर पालिकामा अपारदर्शी निर्णयविरुद्ध आवाज

नेपालगन्ज, मङ्सिर २२


   बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णयहरू रोक्न स्थानीय नागरिक समाज, जेनजी युवा समूह तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन्।

3-1765183831.jpg
   ज्ञापन–पत्रमा पालिकाभित्र देखिएका बेथितिहरू तत्काल सुधार गर्न माग गरिएको छ। नागरिक समाजका अगुवा गुफरान अली शाहका अनुसार विकास, प्रशासनिक सेवा तथा सामाजिक क्षेत्रमा अस्वाभाविक ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैरकानुनी चलखेल, बजेट दुरुपयोग र कर्मचारीबीचको निरन्तर विवादका कारण सेवा–प्रवाह प्रभावित भइरहेको छ।

1-1765183759.JPG
 

   शाहका अनुसार गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरणमा मनपरी खर्च देखिएको छ। उनले स्थायी कर्मचारीलाई जिम्मेवारी नदिई अनावश्यक करार कर्मचारी राख्ने, आफन्तलाई प्राथमिकता दिने र कार्यालय समयमै जनसेवा उपेक्षा गर्ने प्रवृत्तिबाट जनआक्रोश बढेको बताए।

2-1765183758.jpg
   शिक्षा क्षेत्रमा समेत कमजोरी देखिएको उल्लेख गर्दै ज्ञापन–पत्रमा विद्यालय व्यवस्थापन समिति नबन्नु, विषयगत शिक्षक अभाव, शिक्षकहरूको सामाजिक सञ्जालमार्फत राजनीतिक गतिविधि र कमजोर अनुगमनका कारण शिक्षाको गुणस्तर घटेको जनाइएको छ।

  माग सम्बोधन नभए मङ्सिर २४ र २५ गते कालोपट्टीसहित २ घण्टा शान्तिपूर्ण धर्ना गर्ने, त्यसपछि पनि प्रतिक्रिया नआए मङ्सिर २६ गतेदेखि गाउँपालिका तथा वडा कार्यालय ‘कब्जा’ गर्ने चेतावनी दिइएको छ।

pakrau-22025-11-06-04-03-38-1765183832.jpeg
   ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत वलीले जेनजी पुस्ताले उठाएको माग नागरिक–मैत्री रहेको बताउँदै केही विषय पहिले नै समाधान भए पनि जानकारी नपुगेको हुनसक्ने बताए। उनले आफ्नो स्तरबाट सकिने माग तुरुन्त कार्यान्वयन गर्ने र बाँकी विषय कार्यपालिकाको बैठकबाट छिट्टै निर्णय गरिने आश्वासन दिए।

   कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री कृष्ण केसी, गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्र, प्रेम मौर्यलगायतको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक