काठेखोला गाउँपालिका–३, धम्जा ओखलेमा बेलढुङ्गा सामुदायिक घरबासमा पर्यटकको चहलपहल
बागलुङ, २८ मङ्सिर
बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यहाँको आतिथ्य सेवा र स्थानीय परिकारले पाहुनाको ध्यान आकर्षित गरेको छ।

सामाजिक व्यक्तित्व डा. सूर्य पाठकले घरबासको आतिथ्य, सांस्कृतिक कार्यक्रम र खानाका परिकार निकै मन पराएको बताए। विशेषगरी कोदोबाट बनेका परिकारहरू—ढिडो, रोटी र सेलरोटी—पाठकका लागि नयाँ अनुभव बने। “सामाजिक कामको क्रममा धेरै ठाउँमा पुगेको छु, तर कोदोबाट बनेको सेलरोटी बेलढुङ्गामा पहिलोपटक चाख्न पाउँदा निकै रमाइलो लाग्यो,” उनले भने।

बेलढुङ्गा सामुदायिक घरबासमा पारंपरिक कोदो, फापरका ढिडो, लोकल कुखुरा र खसीको मासु, आलुको भाँगो र अचारजस्ता परिकार पाहुनाको रोजाइमा पर्न थालेका छन्। आगन्तुकहरूले बिहानै सूर्योदय र हिमालको दृश्यसँगै स्थानीय परिकारको स्वाद पनि लिने गरेका छन्।
घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ। आमा समूहकी अध्यक्ष माया घर्तीका अनुसार, “राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं। घरबासमा चितवन, पोखरा, म्याग्दी, पर्वत र बागलुङबाट पाहुना आउने गरेका छन्।”

बेलढुङ्गा सामुदायिक घरबास विसं २०७५ मा स्थापना भएको हो। हाल १० घरमा सञ्चालन हुँदै आएको यसले एकै पटकमा ३० जना पाहुनालाई राख्न सक्ने सुविधा प्रदान गर्छ। सञ्चालक गोपाल श्रीसका अनुसार, यहाँ आयातित खाद्य सामग्री प्रयोग नगरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विशेष ध्यान दिइएको छ। श्रीसले बताएअनुसार, “गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण गर्दै गाउँलाई ‘अग्र्यानिक भिलेज’का रूपमा स्थापित गर्ने योजना छ। गाउँमा रासायनिक मल निषेध भएको कारण यहाँको कृषि उपजले पाहुनालाई सहज स्वागत गर्न सक्छ।”

सडक र पदमार्गको पहुँच सहज भएपछि बेलढुङ्गा सामुदायिक घरबासमा पर्यटकको आगमन बढेको छ। समुद्र सतहबाट २,६१४ मिटर उचाइमा अवस्थित यो घरबास आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





