मेलौली नगरपालिका–९ मा पाँच वर्षदेखि अलपत्र खानेपानी योजना
बैतडी, २८ मङ्सिर
बैतडी, मेलौली नगरपालिका–९, विशालपुरका ४२५ घरपरिवार पाँच वर्षदेखि खानेपानीको समस्या भोगिरहेका छन्। स्थानीयवासीहरूले दैनिक पानीका लागि पालो कुर्ने बाध्यता भोग्दै आएका छन्।

मेलौली नगरपालिकामा खानेपानी योजना कार्यान्वयनका लागि संघ र प्रदेश सरकारबाट लगातार पाँच वर्षदेखि करिब २९.९ करोड रुपैयाँ बजेट आए पनि अहिलेसम्म योजना सुरु हुन सकेको छैन। डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा, सुर्काललगायतका गाउँमा असुर–रोकटा खानेपानी मुहान सुक्दा सुक्खा मौसममा पानीको हाहाकार हुने गरेको छ।

वडा अध्यक्ष लोकराज भट्टका अनुसार, मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजना प्रस्ताव भए पनि बजेट आएको बावजुद पाँच वर्षदेखि कार्यान्वयन भएको छैन। उहाँले विवरण दिनुभयो, “आव २०७८/०७९ मा संघ सरकारबाट दुई करोड रुपैयाँ, २०७९/०८० मा प्रदेशबाट ५० लाख, २०८१/०८२ मा ३० लाख र चालु आव २०८२/०८३ मा प्रदेशबाट १० लाख रुपैयाँ आएको छ। तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।”
यसका कारण मेलौली नगरपालिकाले यही मङ्सिर १२ गते खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीलाई पत्र पठाएर योजना कार्यान्वयनको अनुरोध गरेको छ। स्थानीय उपभोक्ता सुरेन्द्र भट्टले भने, “हरेक वर्ष बजेट आएको देख्दा खुसी लाग्छ, तर कार्यान्वयन नहुँदा स्थानीयवासी निराश छन्। मर्छलेखोला तलको मुहान सुक्दा पानीका लागि दिनभर दौडधुप गर्नुपर्छ।”
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिनियर कृष्णबहादुर बोगटीका अनुसार, विकल्पको रूपमा सूर्नया नदीबाट लिफ्ट खानेपानी योजना माग गरिएको छ। यस वर्ष प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट आएसँगै स्थलगत निरीक्षण गरी योजना कार्यान्वयनमा जान तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग




-1770649988.jpg)
-1770567812.jpg)