काठमाडौँ महानगरपालिका स्थापना दिवस सम्पन्न
काठमाडौँ , २९ मङ्सिर
काठमाडौँ महानगरपालिकाले आफ्नो ३१औँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरले अनावश्यक कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाएको बताए। उनले करिब ९१ करोड रुपैयाँको लगानीमा सम्पदा संरक्षणसम्बन्धी कार्य सम्पन्न गर्दै २७६ वटा मूर्त सम्पदा आयोजना र १२५ वटा अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। प्रमुख शाहले आगामी दिनमा करिब दुई खर्ब रुपैयाँ बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गर्ने लक्ष्य महानगरले लिएको पनि उल्लेख गरे। स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना, वातावरण संरक्षण र पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।

स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै उत्कृष्ट कार्य गर्ने जनप्रतिनिधिलाई पुरस्कार प्रदान गरिएको थियो। वि.सं. २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको दिनको स्मरणमा प्रत्येक वर्ष महानगर दिवस मनाइँदै आएको छ।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
