तुलसीपुर उपमहानगरपालिकामा महिला नौमती बाजा समूह सक्रिय - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

तुलसीपुर उपमहानगरपालिकामा महिला नौमती बाजा समूह सक्रिय

तुलसीपुर, पुस ४ 


  परम्परागत रूपमा पुरुषले मात्र बजाउने गरिएको नौमती बाजामा अब महिलाको सशक्त उपस्थिति देखिन थालेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–४ मा महिलाहरूले नै नौमती बाजा बजाउने उद्देश्यसहित समूह गठन गरी व्यावसायिक रूपमा सांस्कृतिक प्रस्तुति दिन थालेका छन्। यहाँका महिलाहरू विवाह, व्रतबन्ध, पूजा–पाठ, कथा, सभा तथा विभिन्न सांस्कृतिक समारोहमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, कर्नाल, नरसिङ्गा, मुजुरा र सहनाईजस्ता वाद्ययन्त्र बजाउँदै आएका छन्। महिलाले बजाएको नौमती बाजाले दर्शक तथा आयोजकको ध्यान आकर्षित गर्न थालेको छ।

1-1766141311.JPG
  तुलसीपुर–४ स्थित जनचेतना आमा समूहले नौमती बाजालाई आयआर्जनको माध्यम बनाएको छ। समूहकी अध्यक्ष कौशिला खड्काका अनुसार तीन वर्षअघि आमा समूहका करिब ३० जना महिलाले देउसी–भैलो खेलेर संकलन गरेको रकममा थप बचत जोडेर नौमती बाजा खरिद गरिएको हो। करिब १० लाख रुपैयाँ खर्च गरेर पूरा नौमती बाजा सेट खरिद गरी समूहले नियमित रूपमा बाजा बजाउँदै आएको उहाँले बताउनुभयो।

3-1766141240.jpg
  समूहले विवाह, पूजा, व्रतबन्ध तथा विभिन्न समारोहमा सेवा दिएबापत १० हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क लिँदै आएको छ। पछिल्लो समय महिला वाद्य समूहको माग बढ्दै गएको अध्यक्ष खड्काको भनाइ छ। विभिन्न उत्सव, सांस्कृतिक कार्यक्रम र सार्वजनिक समारोहमा प्रस्तुतिका लागि बोलावट आउने गरेको उहाँले जानकारी दिनुभयो। समूहले घोराहीमा सम्पन्न अन्तर्राष्ट्रिय लोक महोत्सवमा समेत आफ्नो प्रस्तुति दिइसकेको छ।

2-1766141215.jpg
  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले महिला समूहको सक्रियतालाई प्रोत्साहन गर्न पालिकाले थप नौमती बाजा खरिद गरी हस्तान्तरण गरेको बताउनुभयो। उहाँले नौमती बाजा पुरुषले मात्र बजाउने भन्ने सामाजिक मान्यतालाई जनचेतना आमा समूहले सफलतापूर्वक तोडेको उल्लेख गर्नुभयो।

4-1766141370.jpg
  उपमहानगरपालिका संस्कृति तथा पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलका अनुसार नौमती बाजाको संरक्षण र प्रवर्द्धनका लागि पालिकाले निरन्तर सहयोग गर्दै आएको छ। जिल्लास्तरमा आयोजना हुने विभिन्न कार्यक्रमका लागि समन्वय गरी महिला समूहलाई प्रस्तुति दिन आवश्यक सहजीकरण गरिँदै आएको उहाँले बताउनु भयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक