रघुगङ्गा गाउँपालिकाको पहलमा सोवाङ धुरीमा पर्यटकमैत्री सुविधा थप - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

रघुगङ्गा गाउँपालिकाको पहलमा सोवाङ धुरीमा पर्यटकमैत्री सुविधा थप

म्याग्दी, ६ पुस


   म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित लोकप्रिय पर्यटकीय गन्तव्य सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि पर्यटकले ओडारमा रात बिताउनुपर्ने बाध्यता अन्त्य भएको छ। समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरीमा स्थानीय तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनको पहलमा काठ र जस्तापाटाको प्रयोग गरी आश्रयस्थल भवन निर्माण गरिएको हो। २० जनासम्म बस्न सक्ने क्षमताको उक्त संरचना सोवाङ धुरी पुग्ने पर्यटक र पाहुनाको सुविधाका लागि निर्माण गरिएको तारा गर्बुजाले जानकारी दिनुभयो।

Raghuganga-Gaupalika-1766314249.png
   “हाल आश्रयस्थलको रूपमा प्रयोगमा आएको यो भवनलाई दीर्घकालीन रूपमा रेष्टुरेन्ट सञ्चालन गर्ने गरी वडा कार्यालयसँग सहमति भएको छ,” गर्बुजाले भन्नुभयो, “यहाँबाट प्याराग्लाइडिङ परीक्षण उडानको तयारी पनि अघि बढाइएको छ।” म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पर्ने सोवाङ धुरीबाट संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)  को फेदीदेखि चुचुरोसम्मको दृश्य अवलोकन गर्न सकिन्छ। यहाँबाट सूर्योदयसँगै गुर्जा, धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिने विशेषता रहेको छ।

1-1766563604.JPG
   यस क्षेत्रबाट बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्के तथा म्याग्दी र पर्वतका ग्रामीण बस्ती र पहाडी भूगोलको दृश्यावलोकन गर्न सकिन्छ। सोवाङ धुरी जाने पदमार्ग आसपासको जङ्गलमा घोरल, मृगलगायत वन्यजन्तु तथा पाँचऔँले, सेदकचिनी जस्ता जडीबुटी पनि पाइन्छन्। चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत, जसलाङ, सिजिखोला, सिजिखर्क, थामखर्क, खोलाखर्क, सिसर्का, तल्लोमेला, उपल्लोमेला, आलेखर्क हुँदै नेपानेसम्म जोडिने पदमार्ग पहिचान गरी सोवाङ धुरीसँग जोडेको हो।

Sobang-dhuri_hyVxfhindV-1766314223.webp
   सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेतेसम्म पुग्न सकिन्छ। चिमखोलाबाट हिँडेर एक दिनमै वा सहज रूपमा दुई दिनमा सोवाङ धुरी पुग्न सकिने बताइन्छ। यस क्षेत्रका पुराना बासिन्दा बर्खायाममा गाईभैँसी र भेडाबाख्राका गोठ लिएर सोवाङ धुरी पुग्ने र हिउँदमा गाउँ नजिकको बेंसी झर्ने परम्परा रहेको थियो। नयाँ पदमार्ग र सोवाङ धुरीको प्रवर्द्धनका लागि ‘दृश्यावलोकन केन्द्र’ समेत स्थापना गरिएको छ।

2-1766564637.jpg
     चिमखोला घर भई हाल पोखरामा बसोबास गर्दै आएका तारा गर्बुजा पुन र गोपिन पुनले सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ स्थल नजिक पाँच–पाँच सय लिटर क्षमताका दुई वटा ड्रम राखेका छन्। वडा कार्यालयले थप दुई ड्रम राखेपछि हिउँ पग्लेको पानी र वर्षात्को पानी सङ्कलन गरी पर्यटक तथा गोठालालाई सहज भएको छ। वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालयसमेत निर्माण गरेको छ। होटल तथा रेष्टुरेन्ट नहुँदा पर्यटकले आवश्यक बन्दोबस्तीका सामग्रीसहित यात्रा गर्नुपर्ने अवस्था भने यथावत् छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष