कोरला नाकाले लोमान्थाङ गाउँपालिकामा रोजगारी र व्यवसाय बढायो
मुस्ताङ, पुस १४
नेपाल–चीन सीमा जोड्ने उत्तरी कोरला नाका सञ्चालनमा आएपछि उपल्लो मुस्ताङका युवाहरू गाउँमै व्यवसाय र रोजगारीतर्फ आकर्षित भएका छन्। लोमान्थाङ गाउँपालिका–२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरूङले सिकर्मी पेशा छोडेर दुई वर्षअघि कोरला नाकामा व्यापार सुरू गर्नुभएको हो। पहिले सार्वजनिक र निजी भवन निर्माणमा संलग्न रहनुभएका गुरूङ अहिले नाका क्षेत्रमा पसल सञ्चालन गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ।

कोरला नाकामा पुग्ने पर्यटकलाई लक्षित गर्दै पसल सञ्चालन गर्ने, सीमापारी गएर सामान खरिद गरी बिक्री गर्ने व्यवसायमा गुरूङ मात्र होइन, छोसेरका कुन्साङ गुरूङ, लाक्पा छेचुङ गुरूङ र फुर्बु साङ्मु गुरूङजस्ता स्थानीय युवाहरू पनि संलग्न छन्। नेचुङस्थित मुस्ताङ भन्सार कार्यालय भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएपछि स्थानीयले घरायसी काम र मजदुरी छोडेर व्यापारतर्फ पाइला सारेका हुन्।

हाल कोरला नाकामा व्यवसाय गर्नेहरूमध्ये करिब ६० प्रतिशत युवा रहेका छन्। न्यूनतम ३ लाखदेखि १५ लाख रुपैयाँ लगानीमा सुरु भएका व्यवसायबाट युवाहरूले पर्यटक तथा विभिन्न क्षेत्रका ग्राहकलाई सामान बिक्री गरी आकर्षक आम्दानी गरिरहेका छन्। वैदेशिक रोजगारी, निर्माण पेशा र सवारी चालकका रूपमा काम गरेका युवाहरू समेत अहिले नाकामै केन्द्रित भएका छन्।

जाडो याममा चिसो छल्न पोखरा, काठमाडौंलगायत क्षेत्रमा घुम्ती व्यवसाय गर्दै चिनियाँ तथा स्थानीय उत्पादन बिक्री गर्ने चलनसमेत बढेको छ। कोरला नाकाबाट चिनियाँ बजारसम्म सामान ढुवानी गर्ने मालबाहक सवारीसाधन सञ्चालनमा करिब ८० जना मुस्ताङी युवाले रोजगारी पाएको लोमान्थाङ गाउँपालिका–२ का वडा अध्यक्ष कर्म नाम्ङग्याल गुरूङले जानकारी दिनुभयो।

समुद्री सतहदेखि ४,६५० मिटर उचाइमा रहेको कोरला नाकामा हाल करिब ५० वटा पसल सञ्चालनमा छन्, जहाँ डेढसयभन्दा बढी व्यक्ति व्यवसायमा संलग्न छन्। चिनियाँ भन्सार कार्यालयसम्म पुगेर सामान खरिद तथा ढुवानी गर्ने कामले स्थानीयलाई राम्रो आम्दानीको अवसर दिएको लोमान्थाङ गाउँपालिका–१ की वडा सदस्य छिरिङ युटिन गुरूङले बताउनुभयो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार कोरला नाका सञ्चालनसँगै स्थानीयको सीपअनुसारको रोजगारी सिर्जना भएको छ। नाकाबाट भन्सार कार्यालयसम्म सामान ढुवानी, जाँचपास र पोखरासम्म पुर्याउने कार्यले व्यापारिक गतिविधि तीव्र बनाएको छ।
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै
रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती





