जानकी गाउँपालिकामा सुत्केरी भवन अलपत्र, ठेकेदार सम्पर्कविहीन
नेपालगन्ज, पुस १७
निर्माण कम्पनीको बेवास्ता र लापरबाहीका कारण बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ। करिब १ करोड २५ लाख रुपैयाँ लागतमा सुरु गरिएको सो भवन सम्झौता अवधि सकिँदा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनी पार्वती बडीमालिका जेभीसँग एक वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षअघि सम्झौता भएको थियो। तर, सम्झौता म्याद सकिएको करिब ६ महिना बितिसक्दा समेत भवनको जग मात्र हालिएको छ र त्यसपछि काम अघि बढेको छैन।
जानकी गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा विशेष योजनाअन्तर्गत सम्झौता भई सुरु भएको यो सुत्केरी भवन २०८२ असार २० गतेभित्र सम्पन्न हुनुपर्ने थियो। तर, लामो समयदेखि ठेकेदार सम्पर्कविहीन रहेपछि आयोजना अन्योलमा परेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष छब्बन खाँले मातृस्वास्थ्यजस्तो संवेदनशील सेवामा ढिलाइ हुनु गम्भीर विषय भएको बताउँदै निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न कडा निर्देशन दिइएको जानकारी दिनुभयो।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सम्झौताअनुसार काम नगरेको विषयलाई गम्भीर रूपमा लिइएको बताउनुभयो। उहाँका अनुसार ठेकेदारलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्रिकामार्फत सार्वजनिक सूचना जारी गरिएको छ। तोकिएको समयभित्र जवाफ नआए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ। वडा नं. ५ का अध्यक्ष टीकानाथ यादवले समयमै भवन निर्माण भएको भए स्थानीय महिलाहरूले आफ्नै वडामा सुरक्षित सुत्केरी सेवा पाउने अवस्था हुने बताउनुभयो। पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनी जिम्मेवार नबन्दा स्थानीयवासी निराश बनेका छन्।

सुत्केरी भवन सञ्चालनमा नआउँदा गर्भवती महिलाहरू सुत्केरी व्यथा लागेपछि सदरमुकाम नेपालगन्ज जान बाध्य छन्। यातायात सुविधा नपुगेका तथा आर्थिक रूपमा कमजोर महिलाका लागि यो यात्रा थप जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ। स्थानीय महिला सीता यादवले सुत्केरी हुने समयमा सवारीसाधन नपाएर समस्या भोग्नुपरेको बताउँदै वडामै सुत्केरी भवन बनेको भए यस्तो कठिनाइ सहनु नपर्ने धारणा राख्नुभयो।
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन




-1770649988.jpg)
-1770567812.jpg)