रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती
गण्डकी, पुस २४
कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गर्दै लसुन र प्याजको व्यावसायिक खेतीलाई प्राथमिकतामा राखेको छ । पालिकाले चालु आर्थिक वर्षमा करिब १ लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य तय गरेको छ। गत वर्ष नमूना परीक्षणका रूपमा सुरु गरिएको लसुन र प्याज खेती सफल भएपछि यस वर्ष गाउँपालिकाले सबै वडामा विस्तार गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल गाउँपालिकाका सातवटै वडाका करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याज खेती भइरहेको छ।

स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी तथा खोलाको छेउलगायतका क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिएको अध्यक्ष ओझाले बताउनुभयो। पालिकाले लसुन खेतीका लागि प्रतिरोपनी १० हजार रुपैयाँ र प्याजका लागि प्रतिरोपनी ८ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससँगै अदुवा खेतीलाई पनि प्राथमिकता दिँदै किसानलाई बीउ अदुवा अनुदानमा वितरण गरिएको छ।

गाउँपालिकाभित्र करिब २५० रोपनी क्षेत्रफलमा अदुवा खेती भइरहेको र यस वर्ष करिब ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । “विभिन्न स्थानमा लगाइएको अदुवा राम्रोसँग फलेको छ,” उहाँले भन्नुभयो, “एक किलो बीउ रोप्दा एक डोकोसम्म उत्पादन भएको किसानहरूले बताएका छन्।”
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै





