महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार

हिले, पुस २७

     धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–४, चानुवामा परम्परागत रूपमा हुँदै आएको सक्खर उत्पादन अहिले स्थानीयको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ। घरेलु प्रविधिबाट उत्पादन हुने सक्खरको माग बजारमा बढ्दै गएपछि किसानहरू यसतर्फ आकर्षित भएका छन्।

2-1768127973.jpg
   पछिल्लो एक दशकदेखि उखु खेती र सक्खर उत्पादन गर्दै आएका तायोनाथ कोइरालाको परिवार अहिले उखु पेल्ने र सक्खर बनाउने काममा व्यस्त देखिन्छ। छिमेकी जिल्ला सङ्खुवासभामा सक्खर उत्पादनको अभ्यास देखेर सहकारीमार्फत गाउँमै यसको सुरुआत गरिएको हो। कोइरालाका अनुसार चार रोपनी जग्गामा लगाइएको उखुबाट यस वर्ष करिब तीन लाख रुपैयाँ बराबरको सक्खर बिक्री हुने अपेक्षा गरिएको छ।

1-1768127975.jpg
    चानुवामा मात्र करिब ८० घरपरिवार उखु खेती गरी सक्खर उत्पादनमा संलग्न छन्। उखु काटेर कोलमा पेल्ने, रस निकाल्ने र त्यसलाई पकाएर सक्खर बनाउने परम्परागत विधि अपनाइन्छ। स्थानीय गोमा कोइरालाका अनुसार एउटै परिवारले वर्षमा ५० हजारदेखि छ लाख रुपैयाँसम्मको उखु बिक्री गर्ने गरेका छन्। मेहनत धेरै लागे पनि बजार सुनिश्चित भएकाले किसानहरू ढुक्क छन्।  गाउँमा उखु पेल्ने कोल भने एउटै मात्र रहेको छ, जसलाई चार समूहले पालैपालो प्रयोग गर्छन्। पछिल्लो समय गोरु अभावका कारण कोल चलाउन समस्या हुने गरेको स्थानीय शारदा कटुवाल बताउँछिन्। 

Capture-1768128024.PNG
     चानुवाबाट हरेक वर्ष एक करोड रुपैयाँभन्दा बढीको सक्खर बाहिर पठाइने गरिएको छ। यहाँको सक्खर धनकुटाको ‘कोसेली’का रूपमा पनि लोकप्रिय बन्दै गएको वडा अध्यक्ष शुक्रराज बुढाथोकी बताउनुहुन्छ। स्वास्थ्यका लागि लाभदायक मानिने सक्खर मधुमेह लगायत दीर्घरोगीहरूले समेत प्रयोग गर्न थालेपछि यसको माग अझ बढ्दो क्रममा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक