गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
धनगढी, पुस २७
कैलालीको गोदावरी नगरपालिका–८, मजगाउँमा यस वर्ष नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने भएको छ। थारू समुदायको नयाँ वर्ष तथा प्रमुख पर्व माघको अवसर पारेर माघ १२ देखि १४ गतेसम्म मजगाउँस्थित थारू सङ्ग्रहालय परिसरमा महोत्सव सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्।

थारू कला, संस्कृति, परम्परा, भेषभूषा, स्थानीय खानाका परिकार र कृषि संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। पत्रकार सम्मेलनमार्फत आयोजक समितिले महोत्सवका कार्यक्रम र उद्देश्यबारे जानकारी गराएको छ।बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे तथा न्यू खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा महोत्सव हुने जनाइएको छ। महोत्सवमा थारू समुदायका मौलिक सांस्कृतिक झाँकी, स्थानीय कलाकारहरूको नृत्य तथा गीत प्रस्तुति, साथै गोदावरी नगरपालिकामा स्थायी रूपमा बसोबास गर्ने थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

महोत्सव मूल आयोजक समितिका संयोजक जनकलाल चौधरीका अनुसार विगत १६ वर्षदेखि निरन्तर माघ महोत्सव आयोजना हुँदै आएको छ। उहाँले यसले लोकसंस्कृतिको संरक्षणका साथै समुदायमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद माधव थारूले महोत्सवले गोदावरी नगर क्षेत्रमा सांस्कृतिक जागरण ल्याउन सहयोग पुगेको उल्लेख गर्नुभयो। उहाँका अनुसार अहिले नगरका अधिकांश थारू बस्तीहरूमा सखिया, मघौटा जस्ता परम्परागत नाचहरू पुनर्जीवित हुँदै गएका छन्।
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै
रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती





