काठमाडौँ महानगरपालिकाले पानीपुरी–चटपटे बिक्री अनुगमन सुरु गर्यो

काठमाडौँ २१, साउन २०८२
काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगहरूको जोखिम न्यूनीकरणका लागि पानीपुरी र चटपटे जस्ता लोकप्रिय सडक खाद्यवस्तुहरूको विक्रीमा अनुगमन सुरु गरेको छ। वर्षायाममा पानीको सहज उपलब्धताका कारण प्रदूषित पानीको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्ने भएकाले यो कदम उठाइएको हो।
महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालका अनुसार, खाद्य प्रविधि र खानेपानी तथा ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान सञ्चालन गरिने जानकारी दिएका छन्। पानीपुरी र चटपटे विक्री वितरणको नियमनका साथै पिउने पानीको गुणस्तर परीक्षणलाई तीव्रता दिइने उनले बताए।
हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न 'प्लास्टिक र्याप स्टिकर' र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीमा कामपा रहेको भुसालले उल्लेख गरे। खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच गरिने छ। त्यस्तै, खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कार्यलाई निरुत्साहित गर्ने तयारी पनि कामपाले गरिरहेको उनले बताए।
विद्यालयमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेंगी र हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम, ३२ वटै वडामा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेका कामपाको स्वास्थ्य विभागले जनाएको छ। विद्यार्थीले सिकेका कुरा समुदायमा पुर्याउन सहज हुने भएकाले प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोकेर सरसफाइमा सक्रियता बढाइएको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन भुसालले बताए। उनका अनुसार यसको लागि कामपाले ३२ वटै वडामा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ।
कामपाले स्वास्थ्यसम्बन्धी गुनासो सुन्न र जानकारी लिन निःशुल्क हटलाइन नम्बर ११८० उपलब्ध गराउनुका साथै कुनै पनि समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ। सहरी व्यवस्थापन विभागसँगको समन्वयमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री हटाउन पहल गर्ने, पानी जम्ने सम्भावित ठाउँमा सरसफाइ गरी व्यवस्थापन गर्ने, कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग, नेपाल रेडक्रस सोसाइटीलगायत युवासँगको सहकार्यमा नागरिक सचेतना अभियान र स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको फोकलपर्सन भुसालले जानकारी दिए।

काठमाडौं उपत्यकाका नगरपालिकामा 'नेपाल कला र संस्कृति महोत्सव' सुरु

ललितपुर महानगरपालिकाले लगनखेलमा अवैध संरचना हटायो
सार्वजनिक जमिन अतिक्रमणविरुद्ध रामग्राम नगरपालिकाको डोजर कारबाही
